Saturday, 23, January, 2021

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, केहि दिन अस्पतालमै राखिने !(विज्ञप्तिसहित)

काठमाडौं । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।उनको शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ)का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो ।

गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य भएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई सोमबार बिहान साढे ४ बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको छ ।अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जारि गरेको प्रेस विज्ञप्ति यस्तो छ ।

प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ।

अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।