Saturday, 16, January, 2021

भारतमा तिब्र गतिको कार ट्रकसँग ठोकियो, चार नेपालीको मृत्यु, तीन घाइते

काठमाडौँ । भारतको आजमगढ–गोरखपुर मुख्य मार्गमा तिब्र गतिको कार रोकिरहेको ट्रकमा ठोक्किदा चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

आजमगढ-गोरखपुर मुख्य मार्गस्थित जीयनपुर कोतवाली क्षेत्रको रजादेपुर भन्ने स्थानमा आइतबार राति उक्त दुर्घटना भएको हो। सबै गोरखपुरबाट कार रिजर्भ गरेर वाराणसी भन्ने स्थानमा जाँदै थिए।

उनीहरु कासी विश्नाथ मन्दिर दर्शनपछि चेन्नई जाने तयारमा थिए। मृतकको पहिचान पासर्पोटका आधारमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटना बारे परिवारलाई जानकारी गराएर मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। मृत्यु हुनेमा सुरज बहादुरका छोरा गोरख र उनका छोरा नवीन रहेका छन् भने नवीनकी पन्ती अंजलीको पनि दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै इंद्रवानका छोरा उपेन्द्रको पनि ज्यान गएको छ।

घाइते हुनेमा गोरखकी पत्नी शकुंतला, उपेन्द्रकी पत्नी राजकुमार र राजेश्वरका छोरा विजय राय रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार अनियन्त्रित हुँदा रोकिराखेको ट्रकको पछाडि घुसेको थियो। घटनापछि चालक ट्रक लिएर भागेका थिए तर उनको ट्रकको नम्बर प्लेट भने खसेको थियो।