Saturday, 16, January, 2021

गुगलमा यौन उत्पीडन प्रकरण, १३ वरिष्ठसहित ४८ जनाले गुमाए रोजगारी

विश्वभर बहुचर्चित सर्च इन्जिन कम्पनी गुगलले आफ्ना १३ जना बरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई कम्पनीबाट बर्खास्त गरेको छ। यी सबैजनामाथि विगत दुई वर्षमा यौन उत्पीडनमा संलग्न रहेको आरोप लागेको थियो ।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीका नाममा जारी गरेको एउटा पत्रमा आफ्नो कम्पनीमा दुर्व्यवहारको आरोपमाथि यो सबैभन्दा कडा निर्णय भएको उल्लेख गरेका छन्।

यो पत्र न्युयोर्क टाइम्सको त्यो रिपोर्टको उत्तरमा देखिएको हो, जसमा एन्ड्रोयड निर्माता एन्डी रुबिनलाई उनीमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलर प्याकेज दिएर विदा गरिएको उल्लेख थियो।

यद्यपि पत्रिकाले यो पनि लेखेको छ कि रुबिनका एक प्रवक्ताले यो आरोप अस्वीकार गरेका छन्।

रुबिनले सन् २०१४ मा कम्पनी छाडेका थिए । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार त्यतिबेला उनलाई अति नै शानदार फेयरवेल दिइएको थियो।
सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन् कि न्युयोर्क टाइम्सको उक्त रिपोर्ट पढ्नु निकै नै कष्टदायक छ र गुगल यस्तो प्रकारको घटनाप्रति निकै गम्भीर छ। गुगल े आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिन प्रतिवद्ध छ ।

उनले लेखेका छन्–हामी यो सुनिश्चित गर्न चाहन्छन् कि हामीले यौन उत्पीडनसँग सम्बन्धित हरेक एक आरोपको जाँच गरेका छौ र जाँचपछि नै हामीले यो निर्णय लिएका हौ ।

विगत एक दशकमा गुगलले रुबीनसहित अन्य दुई व्यवस्थापकहरू विरुद्ध यौन दुर्व्यवहारको आक्षेपको ढाकछोप गर्दै आएको पत्रिकाले जनाएको छ।

रुबीनका एक प्रवक्ताले भने ती आरोपको खण्डन गरेका छन्। स्याम सिंगर तथा रुबीनले सन् २०१४ मा गुगल छाडेर प्लेग्राउन्ड नामक एक भेन्चर क्यापिटल कम्पनी खडा गरेका थिए।

गुगल छाड्ने बेला उनलाई नायकको जस्तो बिदाइ गरिएको सो समाचारमा उल्लेख छ। पिचाइले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको सो समाचार पढ्न गाह्रो भएको भन्दै सुरक्षित तथा समावेशी कार्यस्थल सुनिश्चित गर्न गुगल अत्यन्त गम्भीर भएको बताएका छन्।

उनले गत दुई वर्ष यता निकालिएका कर्मचारीमध्ये कसैले पनि बिदाइ प्याकेज नपाएको बताएका छन्।