Thursday, 11, August, 2022

शीतल निवासको एउटा तस्बिर: सामाजिक संजालमा राष्ट्रपतिको जमेर आलोचना

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग पूर्व कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले घुँडा धसेर टीका थापेको तस्बिरको आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीको जमेर आलोचना भएको छ ।

यस वर्षको विजयादशमीको दिन राष्ट्रपति भण्डारीले सदाझैं सर्वसाधारणलाई शीतल निवासमा दसैंको टीका लगाइदिएकी थिइन् । यतिबेला भाइरल बनेको यो तस्बिरमा राष्ट्रपति भण्डारीले कुर्सीमा बसेर पराजुलीलाई टीका लगाइदिएकी छन् भने पराजुली घुँडा धसेर बसेका देखिन्छन् ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री, विशिष्ट व्यक्तित्व, सर्वसाधारणलाई दसैंको टीका उभिएर लगाइदिने गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई कुर्सीमा बसेर टीका लगाइदिएको भन्दै यसलाई ‘नवसामन्तवाद’ को संज्ञा दिइएको छ ।

पराजुली तिनै न्यायाधीश हुन् जसले भण्डारीलाई दोस्रो पटक राष्ट्रपति हुँदा पद तथा गोपनीयताको सपथ खुवाएका थिए । जुन दिन उनले भण्डारीलाई राष्ट्रपतिको सपथ दिलाएका थिए, त्यसैदिन उनलाई पदमुक्त गरिएको थियो । ओली सरकारले उनीविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी गरेको थियो ।