एक चिनियाँ कम्पनीले रातको आकाश उज्यालो पार्न चीनको आकाशमा एउटा नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ।
चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु सहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित गर्न सक्ने गरी प्रशस्त उज्यालो बनाउन सक्ने बताएका छन्।
यसले थुप्रै वैज्ञानिकहरूलाई समेत आकर्षित र अचम्मित पारेको छ । यो किन पनि अचम्मलाग्दो छ भने महत्त्वाकांक्षी परियोजनाको प्रारूपबारे अहिलेसम्म थोरै मात्र जानकारी बाहिर ल्याइएको छ र ती जानकारीसमेत परस्पर विरोधी देखिन्छन्।
के सम्भव छ ?
पिपुल्स डेलीले पहिलोपटक उक्त समाचार गत साता एउटा नवीन काम सम्बन्धी सम्मेलनमा छेन्दु एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङले व्यक्त गरेका प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको थियो।
वुका अनुसार यस अवधारणामा केही वर्षदेखि प्रयोगहरू भइरहेका थिए जसका कारण उक्त प्रविधि सन् २०२० सम्ममा व्यावहारिक रूपमै सम्भव देखिने अवस्थामा आइपुगेको हो।
चाइना डेलीले वुलाई उद्धृत गर्दै उसकै शब्दमा सन् २०२२ भित्रमा तीनवटा ठूला ऐना प्रक्षेपण गर्न सकिने लेखेको थियो। उक्त कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ।
तर ती कुनै पनि समाचारहरूले उक्त परियोजनामा सरकारी सहायता छ–छैन भन्नेचाहिँ खुलाएका छैनन्।
कस्तो हुनेछ नक्कली चन्द्रमा ?
त्यो चन्द्रमा कस्तो देखिन्छ भनेर नबताइए पनि त्यसले फ्याँक्ने प्रकाशले भने १० देखि ८० किलोमिटरसम्म समेट्नेछ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ।
त्यसको चमकता र शुद्धतालाई नियन्त्रण गर्नसमेत सकिने इन्स्चिच्युटका अध्यक्ष वुले बताएका छन्।
यस्तो कृत्रिम चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाइ अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ।
जबकि वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर पर रहेर परिक्रमा गर्छ।
धेरैले अचम्म मानिराखेको कुरा के पनि छ भने यस्तो चन्द्रमा प्रयोगमा आउँदा सडकबत्तीमा भन्दा कम खर्च हुनेछ। सडकबत्ती बिग्रन सक्छ । भूकम्पका बेला काम नदिन सक्छ तर यो नक्कली चन्द्रमा भूकम्पका बेला यो झनै बढी सुविधाजनक रुपमा काममा आउनेछ