काठमाडौ । विजया दशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।
दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सवारी नियम विपरीत वाहन सञ्चालन गर्ने ३८६ जनालाई कारवाही गरेको जनाएको छ ।महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालाई कारबाही गरेको छ ।
महाशाखाकाअनुसार कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि छन् । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दिएको जानकारी अनुसार हिजो दिनभरमा उनीहरू कारबाहीमा परेका हुन् ।पन्तकाअनुसार उपत्यकाका बिभिन्न स्थानमा गरिएको जाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।