काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान व्यवस्था असफल भइसकेकाले समीक्षा गर्न आग्रह गरेका छन् । विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका राजनीतिक परिवर्तनका नाममा समेटिएका असान्दर्भिक कार्यसूचीहरुले देशलाई झनै विषम परिस्थितिमा पुराएको उल्लेख गरेका छन् । उनले देश र देशबासीको हितमा अब समीक्षा र आत्ममुल्यांकनको घडी आएकोसमेत उल्लेख गरेका छन् । बडा दसैंका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले जारी गरेको वक्तव्य जस्ताको तस्तै प्रस्तुत गरिएको छः
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
विजया दशमीको पावन अवसरमा हामी देशभित्र र देश बाहिर रहे बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति, सूख र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछौं ।
नेपाल राष्ट्र भन्नू नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिकका रुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको छ ।
देश शान्त, सूखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउँदछु । देशमा शान्ति सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु, मारिनु नपर्ने, अपराधिक क्रियाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्णू व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौं ।
देश बन्ने बनाइने सपना देखेका हामी नेपाली ( राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनछन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममुल्यांकनको घडी आएको छ । आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौं ।
श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल ।