Wednesday, 07, June, 2023

हस्तमैथुन गरेर शुक्राणु बेच्ने एउटा युवकको दर्दनाक कथा

पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ । आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणू बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ । शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो । हस्तमैथुनपछि मैले शुक्राणू त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ । हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ । यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो।

यौनसुख

तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन । म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन सजिलो छैन । मलाई लाग्छ महिलाको हकमा पनि त्यस्तै अवस्था छ ।

यस्तो अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ । तर मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु ।

शुक्राणूदानबारे मैले पत्रिकामा एउटा समाचार देखेँ । त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ । पत्रिकामा समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ ।

समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणू अभावमा बच्चा जन्माउन सक्दैनन् । र, सोही कारण शुक्राणूदानको दायरा तीव्र गतिमा बढ्दो छ ।

मैले थाहा पाएँ म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणू सङ्कलन केन्द्र रहेछ । त्यहाँ गएर एकचोटि हेरौँ भन्ने विचार मेरो मनमा आयो ।

म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ र म बास्केट बल खेल्छु। शुक्राणू सङ्कलन केन्द्र पुगेर मैले शुक्राणू दिने प्रस्ताव गरेपछि त्यहाँका डाक्टरहरू मुस्कुराए ।

सिलसिला

मेरो व्यक्तित्व हेरेर उनीहरू खुशी भएजस्तो लागिरहेको थियो र उनीहरूको त्यस्तो प्रतिक्रिया पाएर मैले केही अहसज महसुस गरेँ । तर त्यो विषय म कस्तो देखिन्छु भन्ने कुरासँग मात्रै सम्बन्धित थिएन ।

म शुक्राणू बेच्न लागेको थिएँ । अतः मैले यो साबित गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु ।

डाक्टरले मैले केही परीक्षणहरू गराउनुपर्ने भने । मेरो रगतको नमुना लिइयो । मलाई एचआईभी, मधुमेह लगायत छ कि छैन भनेर जाँच गरियो ।
म सबैकुरामा खरो उत्रिएपछि पर्सिपल्ट मलाई बिहान नौ बजे बोलाइयो । मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही शर्त थिए ।

त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो । त्यसपछि शुरू भयो यो सिलसिला । म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडा लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणू दिइ पैसा लिएर फर्किन्थेँ ।

मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणूबाट कोही त आमा बन्न सक्छन् । मलाई यो पनि भनिएको थियो कि शुक्राणू दिएको तीन दिनपछि अर्को पटक दिन सकिन्छ अर्थात् एकचोटि दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ ।

ठगिएको महसुस

केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयोः के मैले आफ्ना शुक्राणूका लागि पर्याप्त रकम पाइरहेको छु त ? चलचित्र ’विक्की डोनर’का अभिनेता त शुक्राणू बेचेरै धनी बन्छन, तर मैले एकचोटि शुक्राणू दिँदा जम्मा चार सय भारु पाउँछु । हप्तामा दुई पटक दिँदा आठ सय रुपैयाँ हुन्छ अर्थात् महिनामा ३२ सय रुपैयाँ मात्र हुन्छ । मैले आफू ठगिएको महसुस गर्न थालेँ ।

शुक्राणू सङ्कलन केन्द्र गएर ’विक्की डोनर’को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ । तर आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो जब सङ्कलन केन्द्रका कम्प्युटरमा ईमेलहरू देखाइयो जसबाट मानिसहरू शुक्राणू बेच्न पालो कुरिरहेको थाहा भयो । अनि मैले आफूलाई सम्झाएँ म पनि त अभिनेता आयुष्मान खुराना होइन । शायद थोरै रकम पाउने भएर होला हामी जस्तालाई शुक्राणूदाता भन्ने गरिन्छ न कि विक्रेता ।
भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ । मलाई लाग्छ आफ्नो शुक्राणू त्यसै खेर फाल्न हुँदोरहेनछ।

अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ । मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ । तर म यो कुरा सबैलाई भन्न सक्दिनँ ।

यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु । तर मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ जसले यो विषयलाई सम्वेदनशीलताका साथ बुझ्न सकोस् ।

मलाई कुनै अपराधबोध भएको छैन । तर मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन । यसबारे म आफ्नो घरमा कसैलाई भन्न सक्दिनँ किनकि मेरा आमाबुवालाई यसको नराम्रो असर पर्न सक्छ ।

प्रभाव

हुन त मेरा साथीहरूमाझ यो विषय अपाच्य होइन र उनीहरूका लागि पनि यो सामान्य कुरा नै हो । समस्या मेरो परिवार र नातागोतामा छ ।
भविष्यमा मेरी केटीसाथी (गर्लफ्रेण्ड) लाई पनि यसबारे बताउन मलाई कुनै समस्या हुनेछैन । हुन त अहिले मेरी केटीसाथी छैन । तर जो हुनेछ, ऊ शिक्षित हुनेछ र उसले यसलाई सहज रूपमा लिने मेरो विश्वास छ ।

मलाई लाग्छ यो विषयलाई श्रीमतीहरूले सहज रूपमा लिन नसक्लान् किनकि उनीहरू नचाहलान् आफ्ना श्रीमान्ले कसैलाई शुक्राणूदान गरून् ।

उसो त शुक्राणू किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदारहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दारहेछन् । शुक्राणूदाताको नाताले यो विषयमा मलाई धेरथोर ज्ञान भएको छ । शुक्राणूको मूल्य त्यसको गुणस्तरबाट मात्रै निर्धारण हुँदैन।

तपाईँको पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता लगायतका कुराले पनि अर्थ राख्दोरहेछ । यदि तपाईँलाई अङ्ग्रेजी भाषा आउँछ भने तपाईँको शुक्राणूको मूल्य पनि बढी आउनेरहेछ । हुन त अङ्ग्रेजी जान्ने व्यक्तिको शुक्राणूबाट जन्मिने बच्चामा त्यसको के प्रभाव पर्छ त्यो मलाई थाहा छैन, तर कैयौँले त्यस्ता पुरुषको शुक्राणू खोज्दारहेछन् ।

मलाई थाहा छ शुक्राणूदाताका रूपमा मेरो परिचय सधैँभरि मसँग हुनेछैन किनकि सधैँभरि त्यो दिइरहने अवस्था पनि रहँदैन । यो कुरा मेरो आमाको निम्ति लाजको विषय हुनसक्छ र मसँग बिहे गर्न कुनै युवतीले अस्वीकार गर्न पनि सक्छिन् ।

तर शुक्राणूदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ । तर मेरो लागि यी दुइटै कुरा लाजका विषय होइनन् ।

(बीबीसी हिन्दीका सम्वाददाता रजनीश कुमारले तयार पारेको एक युवकको जिन्दगीमा आधारित सत्य घटना । ती युवकको आग्रहमा उनको नाम गोप्य राखिएको छ।)