काठमाडौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को शुक्रवार काठमाण्डौंमा सम्पन्न विधान सभाले संघको विद्यानलाई संसोधन सहित पारित गरेको छ ।
विधान समितिका संयोजक डा. हेमराज शर्माले प्रस्तुत गरेको विधानमाथि समूह विभाजन गरेर छलफल भएको थियो ।
तीन उपाध्यक्ष रहेकामा थपेर विषयगत रूपमा पाँच उपाध्यक्ष पु-याउने गरी संशोधन प्रस्ताव भने सभाले विफल पारेको छ । अब संघभित्र पुरानै संरचना अनुरुप निर्वाचन हुने भएको छ ।
वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न प्रस्ताव गरिएको थियो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीनवर्षे बनाउने प्रस्तावलाई समेत हलले अनुमोदन नगरेको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले जनाए ।
यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधान सभा भने यो पहिलो हो ।