सुन्धुलीको रिट्ठे भीरबाट बस सुनकाेशी नदीमा खसेकाे छ। सिन्धुलीको मरिणबाट यात्रु बोकर काठमाडौं आउँदै गरेको ना ६ख ९१२ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।
गाडी भिरबाट खसेर टुक्रा टुक्रा भएको छ। अहिले उद्दारको कार्य भइरहेको प्रहरी निरीक्षक झाले बताए। गाडीमा १२/१३ जना यात्रु भएको प्रहरीले अनुमान गरेको छ।
एक जनाको मृत्यु भइसकेको छ भने ४ जना गम्भीर घाइते भएका छन् । थप विवरण भने आउन बाँकी छ।
नुवाकोटको फेदीखोलामा बस दुर्घटना हुँदा दुईको मृत्यु
नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।
गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।