काठमाडौ । सरकारले आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण सुरु गरेको छ ।
नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्रीवितरण गर्ने गरिएको छ । सरकारले दसैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९ सय च्याङग्रा ल्याउन लागेको छ ।
दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको छ । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५ सय १० वटा खसीबोका मात्र खरिद गरिएको छ ।
खसीको प्रतिकेजी ४ सय ६५, बोकाको प्रतिकेजी ४ सय ६० र च्याङ्ग्राको प्रतिकेजी ६ सय ८५ रुपैयाँ मूल्य तोकिएको छ । यसमा १० प्रतिशत छुट पाइने बताइएको छ ।