२०२० को आइसिसी टी–२० विश्वकप छनोटको पहिलो चरणका रुपमा रहेको एसिया पुर्वि क्षेत्रिय छनोटमा अपराजित रहँदै दोस्रो चरणमा पुगेको नेपाल र सिंगापुरबिच प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार मध्यान्ह एक अर्काविरुद्ध प्रतिष्पर्धा हुँदै छ।
दुवै टिमले समान ५ खेलमा जित निकाल्दै १० अंक बनाएपनि नेपाल रनरेटमा अघि रहँदै शिर्ष स्थानमा रहेको छ। शुक्रबार मलेसियाको बायुमास ओभलमा हुने भिडन्तमा दुवै टिमको लक्ष्य च्याम्पियन बन्ने हुने छ। नेपालले प्रतियोगिताका सुरुवाती पाँच खेलमा सबै पाँच टिम विरुद्ध रवाफिलो प्रदर्शन गरेको थियो। विशेष गरेर बलरहरुको दमदार प्रदर्शन नेपालका लागि सम्झन योग्य रह्यो।
नेपालविरुद्ध प्रतिष्पर्धा गरेका सबै पाँच टिम पूरै ओभर टिक्न असपल भएका थिए। प्रतियोगितामा नेपालसँग सतकको स्कोर पुरा गर्ने टिमका रुपमा आयोजक मलेसिया मात्र रह्यो। नेपालले म्यानमारलाई २९, मलेसियालाई १००, थाइल्यान्डलाई १८, भुटानलाई ३३ र चीनलाई २९ रनमा रोकेको थियाे। जसमा विश्व स्टार बलर सन्दीप लामिछानेले ५ खेलमा २० विकेट लिए भने उनलाई ललित राजवंशीले गतिलो साथ दिए। राजवंशीले पनि ९ विकेट लिएका थिए।
अब फाइनल भिडन्तका रुपमा रहने सिंगापुरविरुद्धको प्रतिष्पर्धा नेपालका लागि उपाधिसँगै प्रतिष्ठाको विषयका रुपमा समेत रहने छ। यद्यपि ब्याटिङको स्तर भने बलिङले ओझेलमा पारेको छ। तर सामान्य लक्ष्यमा पनि नेपाली ब्याटिङ धर्मराएको प्रस्टै देखिन्छ।