Wednesday, 09, June, 2021

आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने

नेपाल राष्ट्र बैंकले दसैंंका लागि आइतबारदेखि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको जानकारी गराए ।

प्रवक्ता पौडेलले बताए, ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ’ । विभिन्न २१ स्थानबाट राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै छ । आफूले बाहेक राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए ।

वाणिज्य बैंकलाई राष्ट्र बैंकले १२ असोजबाटै नयाँ नोट उपलब्ध गराएको थियो ।बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।

राष्ट्र बैंकका अनुसार नोट साट्दा थान मात्र साट्न मिल्ने छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउनेछन् ।