समाचार

महेन्द्रनगर क्षेत्र डुवानमा, महाकाली नदीमा पानीको सतह बढ्यो

कञ्चनपुर । अविरल वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर क्षेत्र डुवानमा परेको छ ।

गएरातीबाट परेको वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, कटानस्थित सुकुम्बासि टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवालगायतका क्षेत्र डुवानमा परेका हुन् ।

भिमदत्त नगरपालिका ९ का एक दर्जनभन्दा बढी घरमा पानी पसेको प्रहरीले जनाएको छ । डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।

यता, लगातारको वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको छ ।

जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रका अनुसार महाकाली नदीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेपछि भारतले पुलमा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मानिन्छ ।