प्रमुख समाचार

प्रमओलीले गरे नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव

लन्डन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्। बेलायतको प्रधानमन्त्री कार्यालयमा मंगलबार साँझ भएको भेटमा ओलीले नेपाल बेलायत सम्बन्धको महत्वपूर्ण कडिको रुपमा रहेको बेलायती गोर्खाको समस्याको बारे पनि कुरा राखेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले नेपाल भारत र बेलायतबीचको त्रिपक्षीय सन्धिलाई पुनरावलोकन गर्नुपर्ने र ब्रिटिस गोर्खाका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गरेर दुबै देशको सम्बन्धलाई प्रगाढ बनाउने कुरामा बेलायती समकक्षीको ध्यानाकर्षण पनि गराउनुभएको मन्त्री ज्ञवालीले बताए । जवाफमा बेलायती प्रधानमन्त्रीले ब्रिटिस गोर्खा र सन्धि पुनरावलोकन जस्ता विषयलाई गम्भीरताका साथ लिँदै छलफल गरेर अघि बढ्ने कुरा व्यक्त गरेको मन्त्री ज्ञवालीले बताए।

दुई राष्ट्राध्यक्षबीच मैत्रीपूर्ण सम्बन्धको समग्र समीक्षा भएको र सम्बन्धको स्तरप्रति सन्तोष व्यक्त गरिएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले नेपालले हालसालै प्राप्त गरेका राजनीतिक उपलब्धीको व्याख्या गर्दै राजनीतिक संक्रमण सकिएर नेपाल आर्थिक विकासमा केन्द्रीत रहेको तथा खासगरी सुखी नेपाली, समृद्ध नेपाल बनाउन अबलम्बन गरिएका नीतिबारे बेलायती समकक्षीलाई जानकारी गराएका थिए।