प्रमुख समाचार

कर्णालीका मुख्यमन्त्रीलाई ‘रातो गाडी’ उपहार

सुर्खेत । साझा विवेकशील पार्टीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘रातो गाडी’ उपहार दिएको छ । आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनी रहेको प्रदेशमा सरकारका मन्त्रीले विलासी सवारी साधनमा सयर गर्न थालेको भन्दै विवेकशीलले मुख्यमन्त्रीलाई डमी ’रातो गाडी’ उपहार प्रदान गरेको हो ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले विकास बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेको छ । यसैको विरोधस्वरुप विवेकशील पार्टीले सांकेतिक रुपमा मुख्यमन्त्रीलाई रातो गाडी उपहार दिएको हो । साझा विवेकशील पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालले प्रदेशका मन्त्रीमा विलासी गाडीको मोह बढेको भन्दै मंगलबार मुख्यमन्त्री शाहीलाई एक थान डमी रातो गाडी प्रदान गरिएको बताए ।

जनताको करबाट ल्याइएको बजेट विकासमा लगानी गर्नुको साटो मन्त्रीले महँगो गाडीमा खर्च गर्न थालेको भन्दै त्यसको विरोध गरेको विवेकशीलका प्रदेश संयोजक दहालले बताए । जनताको करमा रजाइँ गर्न मिल्दैन, बजेटको दुरुपयोग गरिएको छ । मन्त्रीहरु जनताका समस्या भन्दा आफ्नो सुविधामा केन्द्रीत भएकाले विरोधस्वरुप सांकेतिक रुपमा मुख्यमन्त्री शाहीलाई डमी गाडी उपहार दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *