प्रमुख समाचार

आजबाट प्रधानमन्त्रीको युरोप भ्रमण

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् ।

छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लागेका हुन् । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ ।

प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ । यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ । यसअघि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए ।

प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहनेछन् । उनले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि, जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उनेले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् । भ्रमण दलमा करीब २२ जना सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *