समाचार

पर्यटकीय क्षेत्र गोदावरी प्रवेश गर्ने मुख्य सडकखण्डको स्थिती बेहाल

ललितपुर । सातदोबाटोबाट पर्यटकीय क्षेत्र गोदावरी प्रवेश गर्ने मुख्य सडकखण्डको दुरावस्था देख्दा लाग्छ कुनै दुर्गम ग्रामीण भेगमा प्रवेश गरिदैंछ । सडकमा हिड्ने बटुवा र सो रुटमा चल्ने सवारी साधन धुलाम्मे देखिन्छन् । धेरै भयो यहाँका स्थानियले सास्ती बेहोर्नुपरेको तर यसमा कसैले चासो देखाएका छैनन् । नाम पक्की सडकको भएपनि अवस्था कच्ची सडकको झै छ । ‘सडक भरि नै खाल्डाखुल्डी छ, यसलाई बनाउन सरकारी निकायले चासो दिएनन् हात्तीबनका स्थानिय सन्त घर्तीमगरले भने,’ ‘सडकको अवस्था नाजुक बन्दा दैनिक ओहोरदोहारमा समस्या भइरहेको छ ।’

ललितपुर महानगरपालिकामा पर्ने हात्तीवन–हरिसिद्धि सडकखण्ड कच्ची सडकजस्तै भएको छ । यस सडकखण्डमा साझा यातायात सञ्चालनमा आएपछि झन् जाम बढेको छ। साँघुरो सडकलाई मर्मत नगरी ठूला बस सञ्चालन गर्दा समस्या आएको स्थानीयवासी बताउँछन्। सडककै अवस्थाका कारण पनि हात्तीवन – गोदावरी सडकखण्डमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

यता, गोदावरी नगरपालिका– ३ मा पर्ने टौखेल क्षेत्र आसपास केही भाग मात्रै फराकिलो पारिए पनि अहिले धुलो र हिलोका कारण सडक भत्किएको टौंखेलका स्थानीय बताउछन् । पटक–पटक नगरपालिकालाई हार गुहार गर्दा पनि मर्मत सम्भारमा चासो नदिएको उनिहरुले गुनासो गरे ।
टौखेलका स्थानिय एवं समाजसेवी राज घिमिरेले गोदावरी नगरपालिकाका समक्ष सडकको अवस्थाबारे जानकारी गराउदा छिट्टै मर्मत हुने आश्वासन दिएको बताए । उनका अनुसार मुवाब्जा बिबादको कारणसंगै ठेकेदार अनि सरोकारवालाले पहल नगर्दा स्थानीयले दुःख झेल्नुपरेको हो । सडक छेउमा घर जग्गा पर्ने अधिकांश स्थानीयले सरकारले समयमा र उचित मुआब्जा नदिँदा सडक विस्तार रोकिएको समाजसेवी घिमिरेले बताए ।