समाचार

ख्रीष्टियन समाजका महासचिवको रिहाइको माग

काठमाडौं । केही दिन अघि नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेललगायत अन्य ५ जनालाई दाङ्ग प्रहरीले होटलमा बसिरहेको अवस्थामा धर्म प्रचार गरेको भूठो आरोपमा गैरन्यायिक ढंगबाट पक्राउ गरी थुनामा राखी कारवाही प्रक्रिया अघि बढाएकोमा सामाजिक अभियन्ताहरुले आपत्ती जनाएका छन् ।
नेपाल कानुनी राज्य भएको र राष्ट्र धर्म निरपेक्ष भइसकेको अवस्थामा कानुन विपरित यसरी पक्राउ गर्नु धार्मिक स्वतन्त्रताको उपहास र कानुनी शासनको खिल्ली उडेको सामाजिक अभियन्ता जीवन रायमाझी बताउँछन् ।

नेपाल बहुधर्म, बहुसाँस्कृतिक मूल्य र मान्यता बोकेको देश भएकाले सबै नागरिकले आफूलाई मन परेको धर्म, आस्था र विचारलाई स्वतन्त्रतापूर्वक अभ्यास गर्न पाउनु पर्नेमा उनको जोड छ । केही दिन अघि महासचिव एवं पास्टर डिल्लीराम पौडेललगायतको टोली दाङ्गमा रहेको पास्टरहरूको एक कार्यक्रममा पास्टरहरूलाई शिक्षा दिई होटलमा आई बसिरहेको अवस्थामा पूर्व सूचनाको आधारमा बिना पक्राउपुर्जी धर्म प्रचारको भूठो आरोप लगाई पक्राउ गरिएकोले सामाजिक अभियन्ताहरुले भत्सर्ना गरेका हुन् । अभियन्ता जीवन रायमाझीले एक विज्ञप्ती जारी गर्दै भनेका छन् –“ राज्यले आफ्नो गैरकानुनी काम सच्याई डिल्लीराम पौडेललगायतलाई तुरून्त रिहाई गर्न अनुरोध गर्दछु ।, आगामी दिनमा यस प्रकारको घटना नदोहोरियोस् भनी सरकारसँग अनुरोध गर्दछु ।”