मनोरन्जन/साहित्य

“पातालका मान्छेहरु” सार्वजनिक

नियात्राकार बिनोद खड्का दोश्रो नियात्रा संग्रह “पातालका मान्छेहरु” लिएर आएका छन् । यस अघि बि स २०७४ मा नियात्राकार खड्काको पहिलो नियात्रा संग्रह “ओला” प्रकाशित भएको थियो ।
“पातालका मान्छेहरु” नियात्रा संग्रहभित्र नियात्राकारले सयुंक्त राज्य अमेरिकातिरका अनेक यात्राका सन्दर्भमा देखेका, सुनेका र भोगेका अनुभव र अनुभूतिहरुलाई २८ वटा नियात्राहरु मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् । जम्मा ३१६ पृष्ठ रहेको यस नियात्रा संग्रहको प्रकाशन भने शब्दार्थ प्रकाशनले गरेको हो । गतः बैशाख १ गते काठमाण्डौमा शब्दार्थ प्रकाशनद्धारा आयोजित एक साहित्यिक कार्यक्रमका बिच उक्त पुस्तकको विमोचन सम्पन्न भएको छ ।
विगत १४ बर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारको दोहालाई कार्यथलो बनाएका बिनोद खड्काका अनेक साहित्यिक सिर्जनाहरु विभिन्न पत्रपत्रिका लगायत अनलाईन मिडियाहरुमा प्रकाशित हुँदै आएका छन् । खड्का अन्र्तराष्ट्र्यि नेपाली साहित्य समाज कतार च्याप्टरसंग पनि सम्बद्ध रहेका छन् । यस अघि बि स २०७४ मा खड्काको पहिलो नियात्रा संग्रह “ओला” लाई कतारस्थित नवोदित साहित्यिक वाचनालयका तर्फवाट “नवोदित कृति अवार्ड २०७४” प्रदान गरिएको थियो ।