आर्थिक समाचार

हेमजामा आलु महोत्सव शुरु

कास्की, २३ चैत ( पोखरा महानगरपालिका–२५ हेमजामा शुक्रबारदेखि १० औँ संस्करणको आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ स्थानीय विष्णुपादुका क्लबको आयोजनामा शुरु महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

आलु तथा तरकारीको पकेट क्षेत्रको रुपमा परिचित यस ठाउँका कृषि उत्पादनको प्रदर्शनी तथा प्रचारप्रसार गर्ने र हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ । महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेका छन् ।
रासस